जनताका पाइखाना चहार्दै सरकारी मान्छे

सरकारले बनाइदिएका चर्पी जनताले राम्रोसँग प्रयोग गरिरहेका छन् की छैनन् ? भन्ने कुरा थाहा पाउनका लागि सरकारी अधिकारीहरु जनताका शौचालयमा पुग्ने भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले अक्टोबरमा सुरु गरेको सफाइ अभियानका क्रममा देशका ५० हजार घरमा सरकारले बनाइदिएका नयाँ शौचालयको उचित प्रयोग भए नभएको विषयमा भारत सरकारले स्थलगत जाँच गर्ने भएको हो । आफ्नो देशका सर्वसाधारणमा सरसफाइप्रति जनचेतना जगाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हातमा कुचो लिएर आफै सफाइ अभियानमा होमिएका थिए । त्यसक्रममा सर्वसाधारणलाई चर्पीमा मात्र दिसापिसाब गर्नुपर्ने उपदेश समेत उनले दिएका थिए । धेरै गरीब जनताको चर्पी बनाउने आर्थिक हैसियत समेत नभएको हुँदा भारत सरकारले अनुदान दिएरै जनताका लागि ५ लाख चर्पी बनाइदिएको छ । तर घरमा नयाँ चर्पी हुँदाहुँदै मानिसहरुले बाहिर खुल्ला ठाउँमा दिसापिसाब गर्ने बानी छाड्न नसकेको भन्ने खालका समाचार आएपछि भारत सरकारले चर्पीको अनुगमनका लागि सरकारी कर्मचारी खटाउने भएको हो । भारत सरकारले जारी गरेको विज्ञप्ती अनुसार अब सरकारी सफाइ निरिक्षकहरु घरघरै पुगेर चर्पीको प्रयोगका विषयमा अनुगमन गर्नेछन् र चर्पीलाई कसरी प्रयोग गरिएको भन्ने तस्वीर समेत आफ्नो मोबाइल तथा क्यामरामा कैद गर्नेछन् । भारतको खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार सरकारले चर्पी प्रयोगका विषयमा राष्ट्रव्यापी अनुगमन सुरु गर्दैछ । यसअघि चर्पीको निर्माणका विषयमा मात्र अनुगमन हुने गरेकोमा अब भने चर्पीको प्रयोगका विषयमा अनुगमन गर्न लागिएकेा मन्त्रालयको भनाइ छ । स्मरण रहोस् गएको अक्टोबर दुइमा मोदीले स्वस्थ भारत अभियानको घोषणा गर्दै सय दिनमा ५ लाख नयाँ चर्पी बनाउने घोषणा गरेका थिए । यसबीचमा भारतमा लक्ष्य भन्दा बढि अर्थात् ५ लाख ३ हजार १४२ वटा चर्पी बनेको सरकारी तथ्यांक छ । भारतका धेरै ग्रामीण इलाकाका मानिसहरुले सरकारले बनाइदिएको चर्पीको सुविधा रहेपछि बाहिर दिसापिसाब गर्ने गरेको र पक्की चर्पीलाई सामान थन्काउन प्रयोग गरेको बीबीसीले जनाएको छ । सन् २०१९ मा पूरै भारतलाई खुल्ला दिसामुक्त बनाउने योजना भारत सरकारको छ ।

0 comments