समुन्द्रमै बिलायो युरोप सपना

काठमाडौं–‘के छ भाइ, तेरो खबर?’ घरैनिर बस्ने एक जना चिनेजानेका दाइले उनलाई एक बिहानको भेटमा सोधेका थिए।
‘ठिकै छ, बाँचिएको छ,' उनले हात मिलाउँदै सोधे, ‘तपाईंको के छ? जापान जान लागेको सुन्या थिएँ, के भयो?’
‘जापान होइन, अब युरोप जाने!' प्रश्न भुइँमा खस्न नपाउँदै उनले जवाफ दिए।
तिनको जवाफमा यस्तो रवाफ झल्कन्थ्यो, मानौं, केही दिनमै जिन्दगीको धोको पूरा हुँदैछ।
‘युरोप?'

‘हो। बसी–बसी घरमै भिसा आइपुग्छ,’ उनले यसरी सुनाए, युरोप जाने भिसा कुनै महत्वको कागजै होइन। अति सस्तो, ज्यादै सजिलो।

सिन्धुपाल्चोक घर भई कोटेश्वर, जडीबुटी बस्ने २९ वर्षीय लोकबहादुर भण्डारी ती छिमेकी दाइका कुरा सुनेर चकित परे। उनलाई दिउँसै युरोपको सपना देख्न एकछिन पनि लागेन।
के थाहा उनलाई, बसी–बसी घरमै युरोपको भिसा झार्ने धक्कु लाउने ती दाइ त मानवतस्करीका खुंखार दलाल हुन्।
लोकबहादुरले रोमाञ्चित हुँदै भने, ‘त्यसो भए भाइहरूलाई नि सम्भि्कनू न, के हामी पराइ हौं र?’
ती दाइले जवाफ दिइहाले, ‘जाने हो र? ल त्यसो भए ११–१२ लाख जति लाग्छ, भिसा लाउन इन्डिया जानुपर्छ।’
लोकबहादुरले केही नसोची ‘हुन्छ' भनिदिए र भारत जाने तयारीमा जुट्न थाले।
त्यसो त विदेश जाने उनको रहरभन्दा बढी बाध्यता थियो। खासामा व्यापारको सपना बुन्नुअघि पनि उनले विदेश जाने सपना नदेखेका होइनन्। कसैगरी राम्रो देश छिर्न पाए राम्रो कमाइ हुन्थ्यो भन्ने सोच्दासोच्दै खासा पुगे, व्यापारी भएर। खासामा ‘क्यारिङ’ को काम थाले, लोकबहादुरले। जसोतसो राम्रो हुँदै थियो। अचानक उनको व्यापारमा वज्रपात भयो। चिनियाँ पार्टनर साथी पैसा खाएर टाप कसे। चिनियाँलाई १५ लाख रुपैयाँ बुझाएर उनी जसोतसो उम्केर नेपाल फर्के। अब त एकदिन पनि स्वदेशमा बस्न मन थिएन उनलाई। डुबेको पैसा उकास्न पनि विदेश नगइनहुने भूत सवार भइसकेको थियो।
तिब्बत, खासामा बसेर व्यापार गर्दा साझेदार साथीले ठगेको १५ लाख त ‘युँ कमाइनेछ, युरोप छिरेपछि!' भण्डारीको मन सिमलको भुवाझैं कल्पनामा उडिरहेको थियो। युरोपको सपनामा उनले यसअघिका पीडा र आर्थिक नोक्सानी सबै भुलिसकेका थिए।
अबको एक सातामै उनी युरोप यात्रामा निस्कँदै थिए।
१६ साउन, २०७०

लोकबहादुर ती दाइका साथीको पछि लागेर भारत, नयाँदिल्ली पुगे। सँगै दिल्ली पुगेका थिए, सिन्धुपाल्चोकका कमल प्याकुरेल पनि, युरोप जाने सपना बोकेर। पोखराका विनय श्रेष्ठ र कुमार हमाल पनि तिनै दाइको माध्यमबाट दिल्ली पुगेका रहेछन्। सुरुमा सबैलाई महिपालपुरस्थित एक होटलमा राखियो।
नेपालबाट उनीहरूलाई लिएर दिल्ली पुगेका दाइ अचानक सम्पर्कविहीन भए। उनैले जिम्मा लगाएका भारतीय दलालले जसोजसो भने, त्यसै गर्न बाध्य भए उनीहरू।
यतिबेलासम्म युरोपको सुन्दर सपना मात्र देखेका उनीहरूले अब अनेक हन्डर पाउन थाले। आज–आज, भोलि–भोलि भनेर लगभग एक महिना झुलाइयो। बस्ने–खाने कुनै टुंगो थिएन। कहिले पहाडगन्जको कुनै होटलमा लगेर राखिन्थ्यो, फेरि महिपालपुरै फर्काइन्थ्यो।
‘बाहिर निस्कनुहुन्न, खतरा छ, त्यही भएर हामीले यी यो बोकेको' भन्दै बन्दुक देखाउँथे। अब तिनै भारतीयको विश्वास गर्नुको विकल्प थिएन। नेपालमा फोन गरेर कहिले परिवार त कहिले साथीभाइसँग पैसा मगाउँथे र खर्चको जुगाड गर्थे। भिसा नलागुन्जेल सबै खर्च बेहोर्ने जिम्मा लिएका दलाल अहिले अनेक बहानामा असुल्दै थिए।
लोकबहादुरसँग ५ लाख नेपाली असुल्नुअघि उनको पासपोर्टमा इटालीको भिसा लागेको स्टिकर देखाइएको थियो। त्यसपछि पनि एक–दुई दिन भनेर उनीहरूलाई झुलाएरै राखियो।
डेढ महिना भारतमै बित्यो। अचानक ती दाइ सम्पर्कमा आए। उनले भने, ‘भाइ सरी, ती फटाहाहरूले तिमीलाई झुलाए, म बैंककमा छु। तिमी बैंकक आऊ, म यहाँबाट अस्ट्रेलिया पठाइदिन्छु।’
त्यति विश्वास लागेन तर पैसा फसिसकेको थियो। उनीहरूले ती दाइले भनेअनुसारै बैंकक जाने निधो गरे। रुट थियो– काठमाडौं–कलकत्ता–बैंकक।
चारै जना नेपाल फर्के, बैंकक जान। तिनै दाइका मान्छेले उनको पासपोर्टमा बैंककको भिसा लगाइदिए।
उनी पुगे बैंकक।
अवैध बाटो अष्ट्रेलिया पुर्‍याउने दलाल रूपकराज आचार्य।
बैंककमा तिनै छिमेकी दाइ लोकबहादुरलाई लिन एयरपोर्ट आएका थिए। अन्नट–५३ भन्ने ठाउँको एउटा घरको चार तलामाथि कोठा लिइदिए लोकबहादुरका लागि। त्यहाँ अरू आठ जना जति नेपाली थिए। अरू पनि आउँथे, एक–दिन दुई दिन बस्थे र जान्थे।
त्यहाँ पुगेपछि मात्र लोकबहादुरलाई थाहा भयो, उनी त मानवतस्करीका दलालहरूको फन्दामा नराम्ररी फसिसकेछन्।
घरैछेउका दाइ रूपकराज आचार्यदेखि उठ्नुसम्म रिस उठेको थियो। तर उनीसँग तिनै दाइका पछि लाग्नुको विकल्प थिएन। खासामा १५ लाख त गुमेकै थियो। ती दाइको लहैलहैमा युरोप जाने सपनामै १० लाख सकिइसकेको थियो, बैंककसम्म पुग्दा। ‘अस्ट्रेलिया पुगियो भने त हाड घोटेर पनि कमाउँछु र सबै पैसा चुक्ता गर्छु भन्ने अठोट थियो,' लोकबहादुरले सुनाए।
बैंककमा उनीसँगै तनहुँ, दमौलीका मिलन गुरूङ, दिनेश गुरूङ, अर्घाखाँचीका शोभाकर पाण्डे, म्याग्दीका थोमबहादुर छन्त्याल र नारायण श्रेष्ठ पनि थिए। उनीहरू सबैलाई रुपकले नै अस्ट्रेलियाको सपना देखाएर त्यहाँसम्म तानेका थिए। सबैले त्यहाँ पुग्दासम्म १५ देखि १७ लाख खर्चिसकेका थिए।
बैंककको गर्मी। त्यसमाथि साँघुरो कोठामा १५ जनासम्म राखिएको थियो। ‘कहिलेकाहीँ अफगानी र पाकिस्तानी पनि आइपुग्थे,' मिलन भन्छन्, ‘तर, उनीहरू एक वा दुई दिनभन्दा बढी त्यहाँ बस्दैनथे।'
दाल, चामल र तरकारी दलालले ल्याएर छाडिदिन्थ्यो। आफैंले पकाएर खानुपर्ने। ‘चामल झुर क्वालिटीको, तरकारी पनि बन्दाबाहेक केही देख्न पाइन्नथ्यो,' लोकबहादुर भन्छन्, ‘पकाउन एउटा डेक्ची र कराई दिएको थियो। हाडको कचौराजस्तो भाँडोमा खानुपर्थ्यो। पानी खान गिलाससम्म थिएन।'
‘१२–१५ जनाका लागि एउटा फ्यान थियो, ४५–४७ डिग्री तापक्रम, गर्मीले पारो छुन्थ्यो,' उनले सम्भि्कए।
कहिलेकाहीँ उनीहरू नयाँ थपिएकाहरूसँग दलालको आँखा छलेर घुम्न निस्कन्थे। नयाँ ठाउँ, जहाँ पायो त्यहीँ जान पनि भएन। हिँडेर जहाँ पुगिन्छ, त्यहीँसम्म गयो अनि दलाल आउनुअघि नै फर्केर कोठामा आयो। समात्यो भने जेल हाल्छ, १० लाख तिर्नुपर्छ भनेको थियो। ‘हामी धेरै तिरेकाहरू त्यहाँ बसेर उसले जे गर भन्यो, त्यही गर्न बाध्य भयौं। एक–डेढ लाख बुझाएर नेपाल फर्किने त कति छन् कति,' शोभाकर भन्छन्।
लगभग तीन महिना बैंकक बस्दा पनि अस्ट्रेलिया पठाउने अत्तोपत्तो थिएन। एकदिन कोठामा आएर रुपक (दलाल) ले इन्डोनेसिया गएर भिसा लगाउनुपर्ने बतायो। उनीहरू ‘हुन्न' भन्न सक्ने स्थितिमा थिएनन्। इन्डोनेसियाबाट पानीजहाज चढेर अस्ट्रेलिया जान उनीहरू तयार भए।
दलालको योजना थियो– शरणार्थीका रूपमा अस्ट्रेलिया छिराउने, १०–१५ दिनमा भुटानी भनेर राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (युएनएचसिएचआर) बाटै पत्र बनाएर पठाउने। अनि ४५ दिनमा सबै प्रोसेस सकेर अस्ट्रेलिया छिराउने।
रूपकराज आचार्यको पासपोर्ट।
बैंककको दोन मुवाङ एयरपोर्टबाट प्लेन चढेर उनीहरूको समूह इन्डोनेसियाको जकार्ता पुग्यो। साथमा थियो, पासपोर्ट, ५ सय डलर र बुक गरेको होटल इस्तानबुलको ठेगाना।
जकार्ता एयरपोर्टमा कसैले, केही सोधेनन्। ट्याक्सी लिएर उनीहरू होटल पुगे। दुइटा कोठामा तीन–तीन जना बाँडिएर बसे।
‘दुई दिनपछि एक जना नेपाली आयो। उसले हामी सबैको पासपोर्ट लियो,' लोकबहादुर सम्झन्छन्, ‘होटलमा खाने–बस्ने सबै पैसा त्यही ५ सयबाट तिर्न भनिएको थियो। तर, त्यो नेपालीले हामी सबैसँग ३ सय डलर लियो र बाँकीले पुर्याेउन भन्यो। त्यसपछि हामी फेरि आधा पेट खान बाध्य भयौं।'
‘इन्डोनेसियामा अर्को नेपाली दलाल भेटेपछि मात्र थाहा भयो, भिसा लगाएर अस्ट्रेलिया छिर्ने भन्ने सबै बकबास रहेछ,’ उनी भन्छन्, ‘तैपनि पानीजहाजमा चढाएर लाने भन्दा ठिकै लागेको थियो।’
जकार्ता पुगेको ५ दिनका दिन त्यो दलाल राति १० बजे आयो र ‘जहाज चढ्ने बेला भयो' भन्दै उनीहरूलाई भ्यानमा राखेर हिँड्यो। अन्धकारमा ठाउँठाउँबाट अरू मान्छे पनि हाल्दै ७–८ घन्टापछि अनकन्टार गाउँको समुन्द्रकिनार पुगेर भ्यान रोकियो। उनीहरूलाई त्यहीँ उतारियो। त्यहाँ पुग्दासम्म उनीहरू ६ जनाबाट १२–१३ भइसकेका थिए। छ जना नेपाली, अरू अफगानी र पाकिस्तानी।
समुन्द्रकिनार अरू तीनवटा गाडी थिए। अन्धकारमा जंगलको बाटो आधा घन्टा हिँडाएपछि समुन्द्रनजिकै पुगे। त्यहाँबाट २/३ जना गरेर सानो डुंगा चढाएर केही पर रोकेको ठूलो डुंगामा हाले।
त्यो कुनै जहाज थिएन। माछा मार्न प्रयोग गर्ने काठको मोटरबोट। ड्राइभर बस्ने ठाउँमा छत थियो, अरू सबै ह्वाङह्वाङ्ती। जहाज बिहानको मिर्मिरे उज्यालोमा बग्न थाल्यो। उनीहरूलाई भनिएको थियो, ‘केही भएन भने ३८ घन्टापछि हामी अस्ट्रेलियाको पानीमा पुग्छौं।'

‘डुंगामा ३८ जना थियौं। ६ जना नेपाली, अन्य इरानी, अफगानी, पाकिस्तानी, इराकी, बंगलादेशी, बर्मेली र श्रीलंकाली,' मिलन त्यो पहिलो समुन्द्रयात्रा सम्भि्कन्छन्, ‘इरानी, पाकिस्तानी र अफगानी त आफ्नो पूरै परिवारसहित थिए। ३–४ जना बच्चासहित।'
डुंगा जति अगाडि बढ्दै थियो, उनीहरूको बेचैनी पनि बढ्दै थियो। कहिले समुन्द्रमा यात्रा नगरेका उनीहरूको मन त्यसैत्यसै अत्तालिएको थियो। ‘बेलाबेला भोको पेट बटारिएर आउँथ्यो। दिसा–पिसाब सबै त्यहीँ,' उनी भन्छन्, ‘पिउने पानी एकएक बोतल सबैले बोकेका थिए, कतिखेर सकियो, थाहै भएन।'
समुन्द्रको छालसँगै डुंगा ढिलपिल–ढिलपिल अगाडि बढ्दै थियो। उनीहरू न एक अर्कासँग गफ गर्न सक्थे न रुन नै। मन भित्रभित्रै भक्कानिएको थियो। तल गाढा निलो पानी, माथि निलो आकाश। ‘तल हेर्योन पानीले निल्लाजस्तो, माथि हेर्योय आकाशले थिच्लाजस्तो,' शोभाकरले त्यो अत्यासलाग्दो यात्रा सम्भि्कए।
त्यो समुन्द्रमाथि तैरिरहँदाको त्रासदी उनीहरू अहिले सम्झन पनि चाहन्नन्। ‘एकपटक अति नै प्यास लागेर समुन्द्रकै पानी मुखमा हालेको झन्डै कोकाएर मरेको,' लोकबहादुरले भने, ‘तै बेलुकीपख पानी पर्योै, त्यही पानी मुख आँ गरेर खायौं। तेस्रो दिनको दिन बल्ल केही पर क्षितिजमा जंगलजस्तो धस्रो देखियो।'
ड्राइभरले अचानक मोटरबन्द गर्योो र इन्जिन जानी–जानी बिगार्न थाल्यो। उनीहरूलाई पनि डुंगा प्वाल पार्न भनिरहेको थियो। ‘केही गर्ने आँटै आएन। हामी वाल्ल पर्यौंल,' उनी भन्छन्, ‘दोस्रो, तेस्रोपल्ट जानेहरू ड्राइभरलाई सहयोग गर्दै थिए। तर, अस्ट्रेलियन जलसेना (नेभी) को ठूलो पानीजहाज त्यहाँ आइपुग्यो।'
चार/पाँचवटा साना मोटरबोट चढेर उनीहरू आए र डुंगा घेरे। उनीहरूलाई एकातिर पाखा लगाए र बोटमै चढेर जाँचपड्ताल सुरु गरे।
ड्राइभरले इन्जिन बिगारिसकेको थियो। उनीहरूकै मेकानिक्स आएर इन्जिन बनाउन थाले। त्यसपछि सबैलाई एकएक गिलास पानी पनि खान दिए। चार दिनसम्म त्यही पानीमा यताबाट उता, उताबाट यता गरेर बिताउनुपर्योप। ‘त्यतिबेला मरिन्छ भन्ने लागेको थियो। जमिन नजिकै देखिए पनि टेक्न भने पाइएन। निकै नै अत्यास लागेको थियो,' लोकबहादुरले भने।
चौथो दिन राति उनीहरूलाई इन्डोनेसियाको पानीमा लगेर छाडियो र भनियो, ‘तिमीहरू अब इन्डोनेसियाको पानीमा छौ। अब जे भए पनि हामीलाई मतलब हुँदैन।' उनीहरूले इन्डोनेसियाको जमिनसम्म पुग्न आवश्यक तेल छाडेर बोटमा भएको तेल पनि सबै लगे।
‘हामी निकै आत्तियौं। तै ड्राइभरले ७ घन्टाजतिमा जमिनभन्दा केही वरसम्म पुर्यालयो,' लोकबहादुरले सुनाए, ‘पौडन जान्नेहरू जमिनमा गए र भागे। मसहित अरू तीन जनालाई पौडन आउँदैनथ्यो। पौडेर गएकाले माझीलाई फकाएर हाम्रो उद्धार गर्न पठाए।'
यसरी उनीहरू जमिनमा त पुगे तर घना जंगल थियो। अर्ना र गोही मात्रै देखिने। उज्यालो भइसकेको थियो। को–को कता लागे, अत्तोपत्तो थिएन। उनीहरू ६ जना नेपाली भने सँगै थिए। ४–५ घन्टा जंगलमा हिँड्दा कहिले अर्नाले लखेट्थ्यो त कहिले गोहीले झम्टिन आउँथ्यो। बल्लबल्ल एउटा गाउँमा पुगे। एक जना साथी दिनेश गुरुङ केही वर्ष मलेसिया बसेकाले मले भाषा बोल्न जान्दथे। त्यहाँका मान्छेले मले बुझ्दा रहेछन्। त्यसैले उनीहरूलाई सजिलो भयो। ‘पैसा दिने सर्तमा एउटा गाउँले हाम्रो पैसा नआउञ्जेल हामीलाई लुकाउन तयार भयो,' उनले भने।
उसैको फोनबाट उनीहरूले बैंककमा रहेका दलाल रुपकलाई फोन गरे। दलालले केही दिनमा उद्धार गर्ने आश्वासन दियो। उसले पैसा नपठाउञ्जेल नौ दिनसम्म खोरजस्तो कोठामा नुन–खुर्सानीसँग उसिनेको चामलको भात खाएर लुकिरहे। तै बैंककबाट दलालले ३ सय डलर पठाइदियो। २ सय डलर लुकाउने मान्छेलाई दिए र उसैले सय डलरमा जकार्ता जाने गाडीको व्यवस्था पनि गरिदियो। उनीहरू जकार्तामा दलालले भनेको होटल पुगेर बसे।
होटल पुगेर सुस्ताएका मात्र के थिए, राति १० बजे फेरि ‘आजै जानुपर्छ' भनेर त्यो पहिलेकै दलाल लिन आयो। उनीहरूलाई जाने आँट थिएन। फर्कने बाटो पनि थिएन। ‘हामीसँग न पासपोर्ट, न केही,' मिलन भन्छन्, ‘नराम्रोसँग फसिसकेका थियौं, जानुको विकल्प थिएन।'
फेरि त्यही दलालको पछि लागे उनीहरू। ‘अघिल्लोपटक क्याप्टेनले गल्ती गरेकाले त्यस्तो भएको हो, अब हुँदैन,' उसले ढाडस दिए पनि उनीहरूका मनमा त्रासको डढेलो सल्किसकेको थियो।
दोस्रोपटक जकार्ताबाट उनीहरूलाई बोगोर भन्ने ठाउँको भुइँतले घरमा लगेर राख्यो। त्यहाँ एक जना अफगानी र पाकिस्तानी पहिल्यैदेखि थिए। उनीहरू अब आठ जना भए। त्यो अनकन्टार ठाउँमा फेरि लगभग एक महिनाजति बिताए।
त्यसपछि एकदिन दलालले एक्कासि आएर भन्यो, ‘जाने टाइम भयो, अब यसपालि कन्फर्म ल्यान्डमै लगेर झारिदिन्छौं।' उसले यसपटक लाइफ ज्याकेट र ट्युब पनि दिएको थियो।
पुनः पहिलेजसरी नै डुंगा चढाएर उनीहरूलाई क्रिसमस आइल्यान्डनजिकै पुर्‍याइयो। ३८ जनाकै लट थियो यसपटक पनि। कोही नयाँ थिए, कोही पुरानै। त्यहाँ पुगेपछि सबैले एकसाथ डाङडुङ गरेर डुंगा प्वाल पारे र डुबाए। त्यसपछि अस्ट्रेलियन नेभीले स्पिडबोटबाट उद्धार गरेर आफ्नो पानीजहाजमा लगेर राख्यो।
नेभीले दिनको दुईचोटि खान दिन्थ्यो। बिहान जाम पाउरोटी, बेलुका खोले। ‘थुनेको ठाउँको ट्वाइलेट आफैं सफा गर्न लाउँथ्यो,' लोकबहादुर भन्छन्, ‘इन्जिनमाथिको अँध्यारो कोठामा लगेर थुनेको थियो। खाना खाने बेला मात्रै बाहिर निस्कन दिन्थ्यो।'
उनीहरूलाई आफूहरू कहाँ छौं भन्नेधरि थाहा थिएन। लोकबहादुर भन्छन्, ‘सँगै आएका अफगानीले हामीभन्दा दुई घन्टापछि आइपुगेको डुंगा समुन्द्री आँधीमा परेर ४२ जना मरे रे भनेर सुनायो, हामी ठूलो जहाज चढेको केही क्षणमै ठूलो आँधी आएको थियो। सुनेर मन झन् काँप्यो।'
एकदिन खान खान निकालेका बेला चार इरानी समुन्द्रमा फाल हाने। तर, उनीहरूलाई फेरि खोजेर जहाजमा ल्याइयो र हातखुट्टा बाँधेर छुट्टै राखियो। नौ दिनसम्म ‘हाम्रो सरकारबाट केही डिसिजन आएको छैन' भन्दै समुन्द्रमा घुमाएर राख्यो। दसौं दिनको दिन भने फेरि इन्डोनेसियाको पानीमा लगेर ‘अरेन्ज बोट' (लाइफ बोट) मा राखेर छाडिदियो।
क्याप्टेनले जिपिएसको सहायतामा जमिनमा त पुर्याहयो तर भार धेरै भएको र लामो समयसम्म लगातार चलाइरहेका कारण त्यसमा प्वाल पर्योु। तै बीचैमा डुबेन। बल्लबल्ल किनारमा लग्यो। ‘सक्नेजति भागे, हामी नसक्नेलाई पुलिसले समातेर लग्यो,' उनले सुनाए।
‘हामी पान्डोरङ भन्ने ठाउँमा रहेछौं। त्यहाँबाट ट्रकमा हालेर तासिक मलाया भन्ने ठाउँमा लग्यो। मेडिकल जाँच गरेर एक महिनाजति राम्रै होटलमा राख्यो। तिमीहरूको प्रोसेस भइरहेको छ भन्थ्यो,' उनी सुनाउँछन्।
उनीहरू त्यहाँ १२/१३ जना थिए। ‘दलाललाई त्यहाँबाट पनि फोन गरेका थिए। ‘च्यानल मिल्दैछ, जसरी नि निकाल्छौं,' दलाल भन्थ्यो, ‘त्यहाँबाट निकालेर कि अर्को देश कि कतै सिफ्ट गर्छौं।'
महिनादिन यत्तिकैमा बित्यो।
अचानक एक दिन उनीहरूको युरोप सपनामाथि वज्रपात भयो।
पुलिसले ‘तिमीहरू अब घर जाने, एयरपोर्ट हिँड' भन्दै ट्रकमा राख्यो र हिँडायो। कति त त्यहीँबाट पनि भाग्न भ्याएका थिए। ‘हामीलाई त भाग्ने आँट नि आएन, एयरपोर्ट लगेर प्लेनमा मनाडो भन्ने टापुमा लिएर गयो। त्यो त जेल पो रहेछ।'
युरोप जान हिँडेका उनीहरू इन्डोनेसियाको जेलमा हुलिए।
एउटै कोठामा आठ जना सुत्नुपर्ने। आफैं पकाउनुपर्ने। मन खंग्रङ्ग भइसकेको थियो। दलाललाई सम्पर्क गर्न खोजे। उनीहरूले पाउने रासन पुलिसलाई दिएपछि फोन गर्न दियो। ‘तिमीहरूको पासपोर्ट हामीसँगै छ, हामी भिसा थपेर तीन–चार दिनमा निकाल्छौं,' दलालले फोनमा भन्थ्यो।
‘हाम्रो पार्सपोर्ट देऊ, पासपोर्ट भए हामीलाई चाँडै छाड्छ। हामी कतै जाँदैनौ, नेपाल फर्किन्छौं भन्दाभन्दा रुपकले डेढ महिनापछि बल्ल हाम्रो पासपोर्ट पठाइदियो। त्यसपछि हामीलाई आइओएमले सम्पर्क गर्योे र उद्धार गरेर नेपाल पठाइदियो,' लोकबहादुरले लामो सास ताने र युरोप छिरेर धन कमाउने सपनाले डोहोर्या एको मानवतस्करीको कहालिलाग्दो यात्रा सुनाए।
खासामा गुमाएको पैसा उठाउन हिँडेका लोकबहादुर, अर्को त्यति नै लाख सकेर फर्किए।
युरोप समुन्द्रैबाट हेरे, टेक्नधरि पाएनन्।
२०७० चैत २४ गते। धन्न, काठमाडौं ओर्लिए, सकुशल!

सन् २०१२ मा १७ हजार डुंगाबाटै अस्ट्रेलिया पुगेर शरणार्थी बने, १७ जनाको डुंगा दुर्घटनामा मृत्यु भयो, ७० जना हराएका थिए।

सन् २०१० मा इन्डोनेसियाबाट गएको डुंगा दुर्घटनामा ४८ जनाको ज्यान गएको थियो।

समुन्द्रबाट अस्ट्रेलिया छिर्ने शरणार्थी
सन् २०१२–१३ मा
इराक ४०६४
अफगानिस्तान २४३१
भुटान १०२३
कंगो ४८९
इरान ४७१

0 comments