स्कुलमा आतंकवादी हमला: एक–एक गरी कोपिला चुँडे

पेसावर (पाकिस्तान)-हतियारधारी तालिबान आतंककारीहरूले मंगलबार सैनिक पब्लिक स्कुलमा आक्रमण गर्दा १३ वर्षीय सइद सभाकक्षमा थिए। अन्धाधुन्ध गोली चल्न थालेपछि उनी कुर्सीमुनि छिरे। स्वचालित हतियारबाट गोलीको पर्रा छुटेझैं उनको मुटु धड्किरहेको थियो। त्यही धड्कनले नै आतंककारीको ध्यान तानिएला कि भनेर उनी थुरथुर थिए। बन्दुकबाट गोली चल्दा निस्केको आगोको झिल्काले उनी राम्ररी आँखा उघार्नधरि सकिरहेका थिएनन्। कुर्सीमुनि ज्यान कुप्रो पारेर बल्लतल्ल अडिन सकेका सइद आँखा झिमझिम गर्दै मनै कँपाउने घटनाको साक्षी बनेका थिए, जसमा १ सय ३२ जना उनीजस्तै विद्यार्थी केटाकेटी तालिबानी क्रूर हमलाको सिकार बने। ‘म कुर्सीमुनि लुकेर डराई–डराई सबै हेरिरहेको थिएँ, उनीहरू हुुर्रर हाम्रो सभाहलभित्र छिरे, ड्यामड्याम गोली चलाउन थाले,' पेसावरस्थित लेडी रिडिङ अस्पतालमा उपचाररत सइदले मंगलबारको हृदयविदारक घटना सम्भि्कए।
एकपछि अर्को साथी ढल्न थालेपछि उनले घटनास्थलबाट लुकिछिपी आफ्नी आमालाई फोन गर्न भ्याएछन्। उताबाट आमाले रिसिभर उठाएपछि यताबाट सइदले घटनाको केही बयान गर्नै परेन। एकोहोरो बर्सिरहेको गोलीको तिखो आवाज टेलिफोनबाट सहरको पल्लो कुनासम्म कान छेड्ने गरी फैलिएको थियो। त्यत्राविधि केटाकेटीको हत्या हुँदा पनि आफ्नो छोरो जीवित आँखाअगाडि देखेर सइदकी आमा आफैंलाई सम्हाल्न सकिरहेकी थिइनन्। अघिल्लो दिन चरम हतासाबाट गुजि्रनुपरेकाले होला, कुराकानी क्रममा उनी धेरैचोटि भक्कानिइन्।
सइदसँगै अस्पतालको बेडमा थिए, १७ वर्षीय साहरुख खान। सैनिक स्कुलमा तालिबानी हमला हुँदा उनी आफ्ना साथीहरूसँग कक्षाकोठामै थिए। ‘बन्दुकधारी सुइँसुइँ कक्षाभित्र आए र अन्धाधुन्ध गोली चलाउन थाले,' घाइते साहरुखले भने, ‘म डेस्कुमनि लुकेँ, त्यहीँबाट देखेँ, मेरा साथीहरू गोली लागेर एकपछि अर्को भुइँमा ढलिरहेका छन्। कसैलाई टाउकोमै गोली लागेको थियो त कसैको छातीमा। हेर्दाहेर्दै मेरो आँखैअगाडि दुई जना शिक्षक पनि मारिनुभयो।' ‘उनीहरूले मेरा साथी र शिक्षकहरूलाई मारे,' साहरुखले रुँदै भने।
उनका अनुसार हतियारधारीहरू सामान्य पोसाकमा आएका थिए। उनीहरूका दाह्री र कपाल लामा थिए। र, प्रशस्त हातहतियार भिरेका थिए। सइद र साहरुखले बुधबार अस्पतालको शऒ्ढयाबाट अघिल्लो दिनको घटना जसरी सम्भि्कए, त्यसले नै उनीहरू कस्तो बीभत्स घटनाबाट गुजि्रन पुगे भन्ने छर्लंग पार्छ। ... पेसावरको आर्मी पब्लिक स्कुल बुधबार बिहान त्यत्तिकै चकमन्न थियो, जति स्कुलभन्दा ठिकपछाडिको चिहान सधैं नै रहने गर्छ। प्रवेशद्वारबाहिर एक्लो बत्तीको उदास प्रकाशमुनिबाट एक टेलिभिजन संवाददाता घटनास्थलको प्रत्यक्ष प्रसारण गरिरहेका थिए। सडकछेउमा टेलिभिजन च्यानलकै केही गाडी पार्क गरिएका थिए। सडक लगभग सुनसान थियो। हिंसाका छिटा हेर्न आक्कलझुक्कल आइपुग्ने स्थानीय पनि परैबाट आँखा तन्काउँथे। वरिपरि छरछिमेकमा भय यति व्याप्त थियो, कसैले नजिक आउने हिम्मत देखाइरहेका थिएनन्। मंगलबार बिहानसम्म यहाँको माहोल यस्तो थिएन। स्कुलको पहिलो घन्टी लाग्ने बेलासम्म सन्नाटा छेवै पर्न सक्दैनथ्यो। यतिबेला यहाँ सेतो सर्ट, हरियो स्वेटर वा ब्लेजरमा ठाँटिएर आउने केटाकेटीको हाँसो गुन्जिरहेको हुन्थ्यो। बालसुलभ वसन्तले पूरा वातावरण रंगिएको हुन्थ्यो। ढिला आइपुगेकाहरू स्कुलको पहिलो कक्षा भेट्न पाइला लम्काउँदै गरेका हुन्थे। केटाकेटी छाड्न प्रवेशद्वारसम्म आइपुगेका अभिभावक अलिबेर त्यत्तिकै उभिएर हात हल्लाइरहेका देखिन्थे। आफ्ना नानीबाबु स्कुलको कम्पाउन्ड नाघेर सुरक्षित कक्षाकोठा छिरून् भन्ने सुर्ता देखिन्थ्यो उनीहरूका आँखामा। मंगलबार भने हरियो ब्लेजरमा स्कुल छिरेका तिनै नानीबाबु सेतो कफनमा फर्के। उनीहरू हाँसीहाँसी गएका थिए। अहिले उनीहरूका शवअगाडि अभिभावक र आफन्तको आँसु र चित्कार छ। ‘मेरो छोरो बिहान युनिफर्म लगाएर हाँसीहाँसी स्कुल गएको थियो, अहिले ऊ कफनमा छ, ऊ हाँसिरहेको छैन,' १४ वर्षीय छोरा अब्दुल्लाहको शव बुझ्न स्थानीय अस्पताल आएका अभिभावक ताहिर अलीले भने, ‘छोरो नै मेरो सपना थियो, तिनीहरूले मेरो सपनाको हत्या गरे।' सैनिक अधिकारीका छोराछोरी पढ्ने यो स्कुलमा करिब १० बजे तालिबानी हमला सुरु भएको थियो। आतंककारीमध्ये ६ जना स्वचालित हतियारयुक्त थिए। उनीहरूले सैनिक पोसाक नै लगाएको पनि प्रत्यक्षदर्शीले बताएका छन्। यही पोसाककै आडमा उनीहरू निर्धक्क स्कुल परिसर हुँदै कक्षाकोठा र सभाकक्षसम्म छिर्न सफल भएका थिए। स्कुलका कर्मचारी मुदासर अवानले त उनीहरूलाई पर्खाल चढ्दै गरेको पनि देखेका रहेछन्। सुरुमा उनलाई लागेछ, ठूलो कक्षाका विद्यार्थी केही खेल खेल्दैछन्। तर, जब उनका आँखा हातहतियारमा गयो, उनी त्रसित भए। लगत्तै ती लडाकु दौडँदै कक्षाकोठाभित्र गए र धडाधड गोली बर्साउन थाले ‘उनीहरू प्रत्येक कक्षामा छिरेर बेपर्वाह बन्दुक चलाइरहेका थिए,' उनले भने, ‘उनीहरू लगभग हरेक कक्षामा पुगे र त्यहाँ पढिरहेका केटाकेटीलाई मारे।' त्यही बेला स्कुलको सभाकक्षमा ८–१० कक्षाका विद्यार्थीका लागि प्राथमिक उपचारको अभ्यास चलिरहेको थियो। एक जना सैनिक डाक्टर आएर विद्यार्थीहरूलाई तालिम दिइरहेका थिए। ‘तालिम चल्दाचल्दै आक्रमणकारीहरू स्कुल कम्पाउन्डभित्र छिरेको थाहा भयो। बाहिर गोली चलेको आवाज पनि हामीले सुन्यौं, उनीहरू कक्षाकोठामा गएर हाम्रा साथीहरूलाई भकाभक मारिरहेका रहेछन्,' प्रत्यक्षदर्शी विद्यार्थी अब्दुल्लाह जमालले दुन्या टेलिभिजनसँगको अन्तर्वार्तामा भनेका छन्, ‘त्यसपछि हाम्रा शिक्षकले सभाकक्षको ढोका बन्द गर्नुभयो। हामी सबै जना भुइँमा लम्पसार पर्यौंल। तर, उनीहरू ढोकै फोडेर भित्र छिरे। सुरुमा उनीहरूले हावामा बन्दुक चलाए। त्यसपछि चारैतिर घुमेर विद्यार्थीहरूमाथि गोली बर्साउन थाले।'\ ‘ती आक्रमणकारीका लामा दाह्रीजुंगा थिए, एकदमै खुकुलो पोसाक लगाएका थिए, र अरबी भाषा बोलिरहेका थिए,' उनले सम्भि्कए। खुट्टामा गोली लागेर घाइते भएका स्कुल बसचालक जमसेद खानलाई अहिलेसम्म कानमा गोलीको चर्को आवाज र केटाकेटीको चित्कार गुन्जिरहेको भान हुन्छ। गोली चल्न थाल्दा उनी स्कुलबाहिर थिए। गोलीको आवाज र केटाकेटी भकाभक ढल्न थालेको देखेपछि उनी बचाउन अघि सरे। एकैछिनमा उनी आफैं पनि भुइँमा ढले। ‘एउटा गोलीले मेरो खुट्टा पनि छेडिसकेछ,' अस्पतालको शऒ्ढयाबाट जमसेदले भने। आक्रमणलगत्तै स्कुलबाट भाग्न सफल भएका केही विद्यार्थीले लगभग आधा घन्टापछि नै सैनिक घटनास्थल आइपुगेको बताएका छन्। सैनिकले लगत्तै स्कुल क्षेत्र सिलबन्दी गरेर कारबाही सुरु गरेका थिए। करिब ८ घन्टा चलेको मुठभेडमा ९ आतंककारी मारिएको सेनाले पुष्टि गरेको छ। ‘आतंककारीहरूले केही विद्यार्थी र शिक्षकलाई जिउँदै जलाएका थिए,' एक सैनिक अधिकारीले एनबिसीसँग भनेका छन्, ‘उनीहरूले शिक्षकहरूको जिउमा पेट्रोल छर्केर आगो लगाए र विद्यार्थीलाई त्यो बीभत्स दृश्य हेर्न बाध्य पारे।' यसले घाइते केटाकेटीमा परेको शारीरिक र त्यसभन्दा बढी मानसिक आघात अहिले पनि पेसावरको लेडी रिडिङ अस्पतालको आकस्मिक तथा सघन उपचारकक्षमा देखिन्छ। दुवै कक्ष शव बुझ्न आएका तथा घाइते बालबालिकाको स्याहार गरिरहेका अभिभावकको आँसुमा चुर्लुम्म डुबेको छ। कतिपय अभिभावकले त अहिलेसम्म न आफ्ना छोराछोरी भेटेका छन्, न उनीहरूको शव देखेका छन्। उनीहरू छाती पिट्दै अर्धपागल अवस्थामा अस्पतालको एउटा कोठाबाट अर्को कोठामा दौडिरहेका छन्। घरि सूचनाकक्षमा जान्छन् र आफ्ना बालबालिकाको नाम–हुलिया बताएर सनाखत गर्न खोज्छन्। सेतो कपडाले छोपेर राखिएका प्रत्येक शवका अगाडि यस्तरी उभिन्छन्, मानौं उनीहरू रसातलमा फाल हाल्दैछन्। शव सनाखत गर्दा आफ्नो नपरे पनि सन्तोष मान्ने ठाउँ छैन, किनकि उनीहरूलाई थाहा छ अस्पतालको कुनै कुनामा उनीहरूको मुटुको टुक्रा अलपत्र अवस्थामा आफ्ना आमाबाबु कुरिरहेको छ, सद्गतको निम्ति। ‘मेरो छोरो नक्कली बन्दुक देखेरै डराउँथ्यो, सक्कली बन्दुक देख्दा ऊ कति डरायो होला!' मारिएका एक बालककी आमाले अस्पतालमा रुँदै भनिन्। बिहानदेखि लेडी रिडिङ अस्पतालका कोठा चहारेर शव सनाखत गरिरहेका हफिज अहमदलाई भने दिउँसो नयाँ जीवन पाएजस्तै भयो। उनी मंगलबारदेखि नै हराइरहेका आफ्ना भाइको खोजीमा थिए। जिउँदो भेटिने आस त उनलाई रौंबराबर थिएन। तर, उनी जिउँदै रहेछन्। हफिजका भाइ ४५ वषीय जुल्पि्ककर अहमद सैनिक स्कुलमा गणित विभाग प्रमुख छन्। pakisthan9 ‘उनलाई मैले बल्लबल्ल फेला पारेँ, उनी गम्भीर अवस्थामा थिए, तर जिउँदै थिए,' हफिजले भने, ‘उनलाई लगत्तै शल्यक्रिया गर्न अप्रेसन थिएटरमा लगियो।' उनलाई अफगानिस्तानको काबुलमा काम गर्ने आफ्ना अर्का भाइले फोन गरेर घटनाको जानकारी दिएका थिए। उनले टेलिफोनमा भनेका थिए, ‘एपिएस (आर्मी पब्लिक स्कुल) मा तालिबानी छिरेर गोली चलाएछ, टेलिभिजनमा भर्खरै मैले भिडियो क्लिप हेरेँ, एक जना सख्त घाइते देखिएको थियो, मलाई हाम्रो जुल्पि्ककरजस्तै लाग्यो।' पहिलो गोली चल्दा जुल्पि्ककर स्कुलको मुख्य भवनको दोस्रो तलामा गणितको कक्षा लिँदै थिए। ‘पढाउँदा पढाउँदै बाहिर होहल्ला सुनियो, सबै विद्यार्थी के भएको रहेछ भनेर हेर्न दौडँदै बाहिर निस्के, एकैछिनमा फेरि भित्र पसे,' अप्रेसनपछि घटना विवरण सुनाउँदै जुल्पि्ककरले भने, ‘उनीहरू निकै त्रसित देखिन्थे। एक जनाले हतारहतार ढोका बन्द गरे, चुकुल लगाए।' चुकुलले पनि उनीहरूलाई बचाउन भने सकेन। बन्दुकधारीहरू ढोका फोडेर भित्र छिरे। कक्षाकोठामा कोलाहल मच्चियो। विद्यार्थीहरू भागाभाग गर्न थाले। डेस्क–बेन्चमुनि लुके। आक्रमणकारीले खोजीखोजी सबैलाई गोली ठोके। ‘मेरो देव्रे पाखुरामा एउटा गोली लाग्यो, अर्को गोली देव्रे छातीमा। देव्रे तिघ्रामा पनि दुइटा गोली लागे। म भुइँमा लडेँ। उनीहरू सबै मारिए भन्ठानेर फर्के। म झन्डै एक घन्टा रगतले लतपत भुइँमा लम्पसार परिरहेँ। एक घन्टापछि सैनिकहरू भित्र छिरे। मलाई बोकेर अस्पताल पुर्यााए। जिउको देव्रे भागमा गोली लागेकाले म बढी रगत नबगोस् भनेर दाहिनेतिर कोल्टे पर्न चाहन्थेँ, तर जिउ चलाउनै सकिनँ,' जुल्पि्ककरले भने। उनका अनुसार गणितको त्यो कक्षामा १८ जना विद्यार्थी थिए। ‘मलाई कोही बाँचेजस्तो लाग्दैन।' ... पेसावर नरसंहारमा सबभन्दा बढी विद्यार्थी मारिएको स्कुलको सभाकक्षमा हो, जहाँ प्राथमिक उपचारसम्बन्धी तालिम चलिरहेको थियो। सेनाको एकीकृत सैनिक अस्पतालको सहयोगमा भएको उक्त तालिममा सहभागी कक्षा ८, ९ र १० का विद्यार्थी सबै १४ देखि १६ वर्षबीचका थिए। त्यही सभाकक्षबाट जीवित उद्धार गरिएका चार जना विद्यार्थी लेडी रिडिङ अस्पतालको आकस्मिक कक्षमा जुल्पि्ककर अहमदसँगै उपचाररत छन्। त्यसैमध्येका १० कक्षाका विद्यार्थी मोहम्मद हिलालको पाखुरा र खुट्टामा तीनवटा गोली लागेको छ। ‘मैले सुरुमा त आक्रमणकारीहरू भित्र छिरेकै थाहा पाइनँ,' उनले भने, ‘अरू भागाभाग गर्न थालिसकेका थिए, पहिलो गोली नै मलाई लाग्यो।' घटनाका बेला हलको मध्यभागमा रहेका उनी गोली लागेपछि भुइँमा ढले। ‘एकछिन त मलाई केही होसै भएन, सपना देखिरहेजस्तो लाग्यो। म उठ्न चाहन्थेँ तर हलचल गर्न सकिरहेको थिइनँ, जिउ प्यारालाइसिस भएजस्तो एकै ठाउँमा जमेको थियो। बिस्तारै होस आएपछि मैले चाल पाएँ, ममाथि दुई जना साथी गोली लागेर ढलेका छन्,' उनले भने, ‘उनीहरू दुवै मरिसकेका थिए।' होस खुलेपछि उनी आफ्ना साथीहरूको शव पन्छाएर भाग्न खोजेका थिए। त्यही बेला सभाकक्षको डेस्कमुनि लुकेका अघिल्लो लहरका एक जना विद्यार्थी फुत्त निस्केर भागे। आक्रमणकारीले बन्दुक पड्काइहाल्यो। मोहम्मदले देखे, उनको शरीरबाट रगतको फोहोरा छुट्यो। उनी भुक्लुक्कै भुइँमा पछारिए। उनको शव मोहम्मद लडेको ठाउँभन्दा अलिकति मात्र पर थियो। ‘घाँटीमै गोली लागेछ, उनको ज्यान केही बेर थर्रर काम्यो, र शान्त भयो। त्यसपछि त म झन् बरफजस्तै भुइँमा स्थिर भइहालेँ,' उनले भने। सभाकक्षबाटै बाँचेर उपचार गराइरहेका कक्षा ८ का १४ वर्षीय अनश खान केही बन्दुकधारी ढोकाबाट छिरेको सम्झन्छन्। त्यतिबेला प्राथमिक उपचार तालिम भर्खरै सुरु भएको थियो। ‘जब गोली चल्न थाल्यो, हामी सबै डेस्कमुनि लुक्यौं, तर मेरो कुहिना डेस्कबाट बाहिर निस्केको रहेछ, मलाई त्यहीँ गोली लाग्यो,' उनले सुनाए। तालिबान हमलामा परेर करिब १ सय ५० जना मारिएकामा १ सय ३२ जना केटाकेटी र ९ जना शिक्षक थिए। सेनाले ९ सयभन्दा बढी बालबालिकालाई उद्धार गरेको जनाएको छ। उद्धार गरिएका मध्ये पेसावरस्थित संवाददाता मुस्ताक युसुफजाईका दुई जना केटाकेटी पनि थिए। उनका ११ वर्षीय छोराका अनुसार उनीहरूलाई शिक्षिका र स्कुलका महिला प्रिन्सिपलले उद्धार गरेका हुन्। ‘हमला हुनेबित्तिकै स्कुलका शिक्षिकाले नआत्तिनू भन्दै सान्त्वना दिएछन्, उनीहरूले ‘यो पक्कै पनि बाहिर कुनै बिहेमा चलाइएको गोली हो' भन्दै सम्झाएछन्। उनीहरू बाहिर हेर्न पनि गएका थिए रे, एकैछिनमा भित्र पसेर सबै केटाकेटीलाई भुइँमा सुत्न लगाएछन्,' ती संवाददाताले आफ्ना छोराले सुनाएको घटना विवरण उद्धृत गर्दै भने। युसुफजाईका केटाकेटी सानो कक्षामा पढ्छन्, जुन स्कुलको माध्यमिक कक्षाभन्दा अलि पर छ। आतंककारीहरू त्यहाँसम्म आइपुग्नुअघि नै उनीहरूले केटाकेटीलाई लाम लगाएर पछाडिको ढोकाबाट सकुशल बाहिर निकाल्न सफल भएका थिए। सबै केटाकेटीलाई अघि लगाएर शिक्षक–शिक्षिकाहरू पछाडिबाट कराइरहेका थिए, ‘भाग... भाग!' केही बेरमै उनीहरूले प्रिन्सिपललाई पनि देखे। उनी पनि ‘भाग... भाग' भनेर कराउँदै आइरहेकी थिइन्। उनले साना नानीहरूलाई त्यहाँबाट निकालेर नजिकको घरमा पुर्याएइन्। अलि बेरमा त्यहाँबाट अझ टाढाको पार्कमा लगेर राखिन्। र, आफूचाहिँ अन्य विद्यार्थीलाई बाहिर निकाल्न फेरि स्कुलै फर्किन्। ‘हामीले निकै बेरपछि आ–आफ्ना केटाकेटीलाई पार्कबाट जिम्मा लिएका थियौं,' युसुफजाईले भने। साना नानीहरूलाई स्कुलबाट भगाएर ज्यान जोगाउने प्रिन्सिपल आफैं भने बाँच्न सकिनन्। आतंककारी हमलामा मारिनेमध्ये प्रिन्सिपल पनि एक भएको सुरक्षा अधिकारीले जनाएका छन्। युसुफजाई भने ती भाग्यमानी अभिभावकमध्ये पर्छन्, जसका बालबालिका मंगलबारको क्रूर हमलामा सकुशल रहे। अरू धेरैलाई त सानो शवको गह्रुंगो भारीले थिचेको छ। कक्षा ९ को त एक जना विद्यार्थीबाहेक सबै मारिएको रिपोर्ट आएको छ। नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले भनेझैं ‘मानवतामाथिको यो कालो धब्बा' सिंगो संसारकै निम्ति अब ठूलो बोझ बनेर रहनेछ।

0 comments